१७ चैत, पाल्पा । तीन दशक काटेकी बसन्ती (नाम परिवर्तन) गत फागुन २० गते एकाएक घरबाट हराइन् । घाँस काट्न जाने निहुँमा निस्केकी बसन्ती घरमा नफर्केपछि विदेशमा रहेका उनका श्रीमानलाई खबर गरियो । केही दिन भित्रै उनले श्रीमतीको खोजतलास गरिपाउँ भन्ने व्यहोराको निवेदन प्रहरीलाई दिए । प्रहरीमा निवेदन दिएको केही दिनमै जानकारी आयो कि बसन्ती अर्को श्रीमान खोजेर भागिछन् ।
विगत चार वर्षदेखि तानसेनमा डेरा गरी बस्दै आएकी २५ वर्षकी सम्झना (नाम परिवर्तन) माघमा बेपत्ता भइन् । उनी एकाएक डेराबाटै हराइन् । आफूखुसी हिँडेको भन्दै खोजतलासका लागि उनको श्रीमानले समेत प्रहरीमा निवेदन दिए । उनी अहिलेसम्म पनि फेला परेकी छैनन् । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
माथिका यी दुई घटना त दृष्टान्त मात्रै हुन् र उनीहरु केही प्रतिनिधी पात्र मात्रै हुन् । पाल्पा जिल्लाबाट विदेशीने युवाको संख्या जति बढ्दै गएको छ, त्यति नै श्रीमानलाई छाडेर परपुरुषसँग भाग्ने महिलाहरुको संख्या पनि बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकमा छ । चालु आर्थिक वर्ष २०७२/७३ को हालसम्म जिल्ला प्रहरी कार्यालय पाल्पामा ६१ जना महिला हराएको वा सम्पर्क बाहिर रहेका भन्ने निवेदन परेका छन् ।
हराएकामध्ये केही सम्पर्कमा आएपनि उनीहरुले अर्कै पुरुषसँग विवाह गरेको पाइएको छ ।
‘६१ जना महिलामध्ये ३० जना प्रहरी वा आफन्तको सम्पर्कमा आए,’ महिला सेलकी प्रहरी जवान शान्ता खत्रीले भनिन्, ‘सम्पर्कमा आएका अधिकांश महिलाहरु परपुरुषसँग गएका छन् ।’ श्रीमान विदेश गएपछि अर्को पुरुषसंग प्रेम सम्बन्धका कारण बढी महिलाले घर छाडेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ ।
विदेश बसेका श्रीमान घर फर्किएपछि आफूले पठाएको रकमको हिसाब किताब हुने, त्यसैमा झगडा परेर तनावमा श्रीमतीले घर छाड्ने, कुनै-कुनै श्रीमान आउने बेला भयो भन्ने थाहा पाएपछि नै भाग्ने गरेका घटना औसतमा बढी छन् । विदेशमा रहँदा श्रीमानले कमाएर पठाएको रकम सही ठाउँमा खर्च नगर्ने र सम्बन्धमा दरार बढ्दै गएपछि घरै छाडेर हिँड्ने गरेको निवेदनसमेत महिला सेलमा आएको देखिन्छ ।
‘अशिक्षा, गरीबीसँगै मादक पदार्थ सेवन गरी श्रीमानले श्रीमतीलाई अनावश्यक यातना दिने र श्रीमान-श्रीमतीबीच स-साना कुरामा मनमुटाव हुँदा पनि घर छाडेर हिँड्ने गरेको देखिन्छ,’ महिला सेलकी अर्की प्रहरी जवान सविता थापा भन्छिन् ।
खोजतलासको उजुरी प्रहरीमा आएपछि उजुरीकर्तासँग मौखिक बयान गरेर पहिला घटनाक्रम प्रहरीले अध्ययन गर्छ । घटनाको यथार्थ पत्ता लागेपछि खोजतलास गर्नुपर्ने व्यक्तिबारे मातहत र माथिल्लो निकायमा परिपत्र गरेर प्रहरीले यस्ता हराएका महिलाको खोजतलास अघि बढाउने गरेको छ ।
पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्ले हराउँदा प्रहरीमा खबर गरे पनि फेला परेपछि आफन्तले प्रहरीमा खबर नगर्दा जिल्लामा हराएका महिलाको संख्या धेरै देखिएको हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘प्रहरीको नजरमा हराएको उजुरी परेपनि र पछि सम्पर्कमा आएकामध्ये सबैभन्दा बढी अर्कैसँग विवाह गरी बसेका छन् । फेला नपरेका अधिकांश महिलाहरु भारतीय सहरसम्म पुगेका हुनसक्ने पाल्पा प्रहरीको आशंका छ ।अनलाइन खबर बाट।



0 comments
प्रतिक्रिया दिनुहोस्...