पूर्व सभासद शान्ता चौधरीले कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिन सुरु गरेकी छन्।
आइतबारबाट सुरु भएको जिल्ला स्तरिय परिक्षाको पहिलो दिन दिएको नेपाली विषयको परीक्षा राम्रो भएको उनले बताइन्।
एमालेकी नेता चौधरीले आफूले अध्यनरत उच्च मावि गोग्ली डाँडागाउँमाबाट परिक्षा दिइरहेकी छन्।
सानै उमेरदेखि १७ वर्ष साहुको घरमा कम्लरी बसेकी शान्ताले त्यतिबेला पढन पाइनन्। नेकपा एमालेमा आबद्ध भएर 'राजनतिक करियर' सुरु गरेकी चौधरी पहिलो संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली मार्फत सभासद बनेकी थिइन्। दोस्रो संविधान सभा चुनावमा भने प्रत्यक्ष निर्वाचन प्रणालीमा टिकट पाएकी चौधरी दाङ क्षेत्र नम्बर दुईमा पराजित भइन्।
उनको आत्मकथा 'कम्लरीदेखि सभासदसम्म' प्रकाशित छ।
औपचारिक शिक्षा लिन नपाएकाले पहिलो संविधानसभामा भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै आफूले पढ्न सुरु गरेको उनले बताइन्।
उनले भनिन्, 'अनपढ हुँदा पहिलो संविधानसभामा निकै अवहेलना बेहोर्नुपर्यो अनि आफैंलाई पनि निकै संकोच लाग्ने गरेको थियो। त्यसैले पढने प्रण गरेकी हूँ।'
८ वर्षको उमेर देखि कम्लरी बस्नु परेपछि चाहेर पनि पढ्न नपाएकोले अहिले विद्यालय भर्ना भएको उनले बताइन्।
दाङबाट यो वर्ष १४ हजार ८ सय ३४ विद्यार्थी जिल्ला स्तरिय परिक्षा सामेल रहेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...