-->
बच्चालाई दूध चुसाउँदै, एसएलसी दिँदै
Advertisement

बेनीः किसानी मावि धारापानीबाट एसएलसी परीक्षामा सहभागी प्रतिक्षा केसीको साथमा ११ महिनाको छोरो छ । परीक्षामा प्रश्नोत्तरको तनाव त छँदैछ, भोकले छोरो रुँदा अझ बढी दबाबमा हुन्छिन्, उनी ।


‘छोरो धेरै रोएपछि अतिरिक्त समय मागेर बाहिर निस्केर दूध खुवाउँछु, बच्चाको पनि हेरचाह त गनैपर्यो’, प्रतिक्षा भन्छिन् । १४ वर्षकै उमेरमा सहपाठीसँग प्रेम विवाह गरेकी प्रतिक्षाले छोरो जन्मेदेखि यता राम्ररी पढ्न पाएकी छैन् । ‘तैपनि पास हुने उद्देश्य बनाएकी छु, अहिलेसम्म राम्रै भएको छ’, हेम उच्च मावि स्रोत केन्द्रबाट परीक्षा दिँदै गरेकी उनले भनिन् ।


पढ्दापढ्दै २ वर्षअघि विवाह गरेकी गुर्जाकी तमकुमारी छन्त्यालले गतवर्ष छोरो सानै भएकाले परीक्षा दिन पाइनन् । १५ महिनाको छोरा लिएर परीक्षा दिँदै गरेकी छन्त्यालले भनिन्, ‘प्रेम भएपछि पढाईलाई महत्व दिएनौँ, अहिले यसको महत्व बुझ्दैछु ।’


छोरो हेरचाह गर्ने सहयोगी राखेर परीक्षा दिँदै गरेकी छन्त्यालले एसएलसी उत्र्तीण हुने आफ्नो एकमात्र उद्देश्य भएको बताइन् ।

सोही परीक्षा केन्द्रमै चार महिनाको छोरो लिएर परीक्षा दिदँैछिन्, जनकल्याण मावि गुर्जाकी दिलकुमारी छन्त्याल । १९ वर्षीया दिलकुमारीको एकवर्षअघि गाउँमै विवाह भएको हो ।


‘छोरो भएपनि पढ्नुपर्छ भन्ने लागेको छ’, उनले भनिन्, ‘बच्चालाई हेरचाह गर्दागर्दै घरमा खासै पढ्न पाइँदैन । प्रश्न हल गर्न समय पनि पुग्दैन । सरहरुले केही समय थप गर्नुहुन्छ ।’


बच्चालाई दुध चुसाउँदै परीक्षा दिइरहेका यी विद्यार्थी आमाहरुको अवस्थाले जिल्लामा बालविवाहका डरलाग्दो तस्बिर देखाउँछ । समाजमा चेतनाको कमी हुनु, लहैलहैमा लाग्नु र सानै उमेरमा प्रेम सम्बन्धमा फस्नु जस्ता कारणले प्रतिक्षा, तकमकुमारी र दिलकुमारी जस्ता विद्यार्थीले कम उमेरमै विवाह गरेका हुन् ।


हेम उच्च मावि स्रोत केन्द्रका स्रोतव्यक्ति गिरिप्रसाद छन्त्यालले घरपरिवारको स्वीकृतिबिना नै कक्षा ९ र १० का विद्यार्थीले विवाह गर्ने गरेको बताए ।


‘विद्यालयमा शिक्षक र घरमा बाबुआमाको स्वीकृती हुँदैन, तैपनि उनीहरु भागेर जान्छन्’, उनले भने, ‘सानै उमेरमा एकअर्कालाई मन पराएपछि अरु कुराको ध्यानै हुँदोरहेनछ । यो क्षेत्रमा विगत वर्षमा भन्दा बालविवाह धेरै कम भएको छ ।’


कक्षा ८ देखि माथिका विद्यार्थीले छिट्टै विवाह गर्ने र बच्चा जन्माउने क्रम धेरै रहेको पाइएको छ ।


‘एउटै कक्षाका विद्यार्थी विवाह गर्छन्, अनि सँगै स्कुल आउँछन्’, स्रोतव्यक्ति छन्त्यालले भने, ‘विवाह गरेपनि बच्चा नजन्माउनु भन्छौ, तर यो क्रम पूर्ण रुपमा रोकिएको छैन ।’


Advertisement
, , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.