त्यसो त, वैशाख १२ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रिक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको रेकर्ड राखिन्नथ्यो ।
ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए।
“वैशाख १२ को ७.६ रिक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो ” – उनले भने ।
गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म दिनमै ४ रिक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।
पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।
केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रिक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।
यसैबीच आज बिहान ९ बजेर ४० मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...