वोल्डनेस र व्यूटिको कम्बिनेसन एकदम थोरै युवतिमा पाईने कुरा हो । जोसँग यो हुन्छ, त्यसको मादकतामा मोहित नहुने को होला र ? यही दुर्लभ गुण प्राप्त एउटा सुन्दरी हुन्, नम्रता श्रेष्ठ । उनको मादक मुस्कान, मृगी दृष्टि र जीवनशैलीले धेरैलाई लोभ्याउँछ ।
यही आकर्षण र निखारिएको कलाले गर्दा नै उनी आफूले अभिनय गरेका फिल्म र म्यूजिक भिडियोमा नसकिन्जेल जोसुकैलाई बाँध्ने क्षमता राख्छिन् । क्वान्टिटी भन्दा क्वालिटीमा विश्वास गर्ने उनी अहिलेसम्म आफूल गरेको कुनै फिल्म र म्यूजिकभिडियोबाट सन्तुष्ट छैनन् । तर, उनले अभिनय गरेका सवै म्यूजिक भिडियो र फिल्म भने, सफल नै देखिएका छन् । पहिलो फिल्म ‘सानो संसार’ले नेपाली फिल्मदेखि भड्किएको युवा दर्शकलाई फर्कायो भने ‘मेरो एउटा साथी छ’ले नेपाली फिल्महरु एकपछि अर्काे गर्दै असफल भईरहेकै बेला सफलताको स्वाद चखायो । आफुलाई सक्दो एक्टिभ र व्यस्त राख्न चाहने उनलाई अभिनयसँगै समाजसेवाका काममा पनि रुची छ ।
सुन्दरता प्राप्त गर्नु र त्यसलाई मेन्टेन गर्नु फरक कुरा हुन् । ‘सुन्दरताको सोझो सम्वन्ध स्वास्थ्यसँग हुने भएकाले पनि स्वास्थ्यलाई नजरअन्दाज गर्न सकिदैन’ नम्रता भन्छिन् । नम्रता हेल्थकन्सियस छिन् । व्यवहारमा आम युवती जस्तै भन्न रुचाउने उनले सबैभन्दा धेरै ‘कम्परमाईज’ खानामा गर्छिन् । कामको व्यस्तताले घरमा खाना खाने अवसर कमै जुर्छ । तर, बाहिरकै भएपनि स्वादे जिव्रोलाई कावुमा राखेर हाइजेनिङ फुड अर्डर गर्छिन् । चिकेनकी पारखी यीनले धेरै अर्डर गर्ने खाना पनि चिकेनमिश्रित नै हुन्छ । एकैदिनमा दोहोरिन पनि सक्छन् चिकेनजन्य आईटमहरु ।
माछा वल्ल खान थालेकी छिन् । सानोमा काँडादेखि डराएर नखाने उनको पछि रुची नै जागेन । एकै पटक धेरै भने खान सक्दिनन् । यसले दिनमा धेरै पटक खाना खानुपर्छ उनलाई । ग्रेभिभन्दा स्पाईसि खानामा रुची भएकाले पानी सक्दो बढी पिउनुपर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि प्रशस्त पानी पिउनु फाईदाजनक हुने भएकाले उनलाई झन् यो प्लसप्वाईन्ट भईरहेको छ । जुस पनि बढी नै मन पराउछिन् उनी ।
उनको दिनचर्यामा नियमितता भन्दा आकास्मिकता बढी हुन्छ । त्यसैले उनको कुनै कुराको स्थायी रुटिङ छैन । भोलीको रुटीन वेलुका मात्रै बन्ने भएकाले दिनैपिच्छे सुत्ने उठ्ने खाने लगायतका सबै समयतालिका बदलिरहन्छन् । यही वदलावको मारमा परेको छ उनको नियमित गर्न चाहेको एक्सरसाईजको योजना पनि । सुत्न भने उनी निद्रा पुग्नेगरी सुतेकै हुन्छिन् ।
त्यसैमा एक्सरसाईज कहिलेकाही मात्र ग¥यो भने झन् स्वास्थ्यका लागि प्रतिकुल हुन्छ भन्ने थाहा पाएदेखि उनले एक्सरसाईज थालेकी छैनन् । ‘अहिले कामकै व्यस्तता एक्सरसाईज झै काफी छ’ उनको भनाई छ ‘तर, बिस्तारै योगा वा अरु केही गर्ने समय निकाल्छु’ । स्कुल लाईफमा टेवलटेनिस र वास्केटवलकी सौखिन थिईन् । त्यसैले कहिलेकाही अरुले खेलेको देख्यो भने अहिलेपनि मनमा रहरको मुना पलाउँछ । तर, करियर स्टार्ट गरेदेखि अहिलेसम्म यी दुबै खेल खेल्न त के बलसमेत छुनै पाएकी छैनन् ।
बनावटी हाँसो र मुस्कान कसैलाई पनि सुहाउँदैन । सधैं प्राकृतिक मुस्कानको जादु छर्ने नम्रताले सबै प्रकारका तनाव भोगेकी छिन् । र, तनावको चरम सिमालाई सहजै निस्तेज पार्नसक्ने साहसी युवतीको रूपमा आफूलाई पुष्टिसमेत गरिसकेकी छिन् । आत्मवल र लगनशीलता नै उनमा पाईने अभौतिक सुन्दरता हुन् । प्रत्येक पलमा दोहोरिने तनाव सहजै तह लगाउँछिन् नम्रता । यीनी म्यूजिककी क्रेजी नै हुन् । फुर्सद भयो की कानमा एअरफोन राखेर म्यूजिक मस्ति लिन नचुक्ने उनलाई यही कुरा तनाव व्यवस्थापनको लागि सहयोगी भईदिएको छ । ‘सुटिङमा पनि फुर्सद भयो कि म्यूजिकमा ध्यान पुग्छ’ उनी भन्छिन् । पहिले पहिले ढोका बन्द गरेर ठूलो स्वरमा म्यूजिक वजाएर धोको पुग्नेगरी नाँच्थिन् पनि ।
उनलाई सवैभन्दा धेरै सताउने रुघाखोकीले हो । पानी र चिसोसँगको संसर्ग नम्रताका लागि त्यति फाप्दैन । सक्दो यसबाट जोगिने प्रयास गर्छिन् । केही समयअघि सुटिङकै क्रममा टाईफाईडले थलिएकी थिइन् । त्यसपछि भने स्वास्थ्यमा ठूलो रोगले आक्रमणको गर्ने दुस्साहस गरेको छैन । स्वास्थ्य परिक्षण अनियमित जीवनशैलीभित्र पर्ने एउटा नियमितता हो । पहिला ६ महिनामा चेकअप गराउने अहिले ९ महिनाको एकचोटी मात्रै गराउँछिन् । नियमित स्वास्थ्य परिक्षण गर्न, सक्दो पानी वढी खान र हाईजेनिक खानेकुरा खान अरुलाई पनि सुझाउँछिन् ।
-स्वास्थ्य खबरपत्रिका



0 comments
प्रतिक्रिया दिनुहोस्...