दर्ता नहुँदा खाता खोल्न मिलेन’
काठमाडौँः नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्तिका नाममा आफ्नै खातामा पैसा जम्मा गर्न अपिल गरेका छन् ।
बिहीबार आर्थिक सहयोग संकलन गर्न सार्वजनिक आह्वान गर्दै भट्टराईले आफ्नै नामको खाता नम्बर दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नयाँ शक्तिले जेठ ३०–३२ गतेसम्म गर्न लागेको पार्टी स्थापनार्थ राष्ट्रिय भेलाका लागि आर्थिक सहयोगको आह्वान गरेका हुन् ।
सार्वजनिकरुपमा गरिएको आह्वानमा भनिएको छ, ‘नयाँ शक्ति नेपाललाई आर्थिक सहयोग गर्न देश, विदेशमा रहनुभएका इच्छुक महानुभावले बैंक खातामा रकम जम्मा गरेर आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।’
समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ नयाँ विचार, आचरण, शैली र संरचनासहितको नेतृत्वले प्राप्त रकम पारदर्शी बनाउने समेत आह्वानमा उल्लेख छ ।
‘नयाँ शक्ति नेपालले बैशाख र जेठ दुई महिना आर्थिक संकलन अभियान सञ्चालन गर्दै छ,’ आह्वानमा भनिएको छ, ‘हामी प्राप्त सबै सहयोग रकमको हिसाव पारदर्शी बनाउनेछौँ,’
आर्थिक संकलनका लागि गरिएको आह्वानमा राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको बाबुराम भट्टराई र नयाँ शक्तिका सचिवालय संयोजक केशवप्रसाद दाहालको नामको १४२००६०३३४१० खाता नम्बर उल्लेख छ ।
‘पार्टी दर्ता नहुँदा खाता खोल्न मिलेन’
पार्टीले वैधानिकता नपाएकाले पार्टीको नाममा खाता खोल्न नमिल्दा व्यक्तिगत खाता खोलेर आर्थिक अभियान सुरु गरेको नयाँ शक्ति नेपालको सचिवालयले जनाएको छ ।
बाबुरामकै नामको खातामा पैसा किन जम्मा गर्ने भन्ने अन्नपूर्ण अनलाइनको प्रश्नमा नयाँ शक्तिका सचिवालय संयोजक केशवप्रसाद दाहालले भने, ‘अन्तरिम केन्द्रीय परिषद्को निर्णय अनुसार व्यक्तिगत नाममा खाता खोलिएको हो । पार्टी दर्ता भएपछि पार्टीकै नाममा खाता बन्छ ।’
नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद सदस्य कृषिविद् मदन राई पार्टी दर्ता नभएसम्म वैधानिकताका लागि संयोजक र सचिवालय संयोजकको नाममा खाता खोल्नुपरेको बताउँछन् ।असल राजनीतिकालागि आर्थिक सहयोग गरौं https://t.co/Rt1LueJZm4
— Baburam Bhattarai (@brb_laaldhwoj) April 14, 2016
राईले अन्नपूर्ण अनलाइनसँग भने, ‘हेर्दा व्यक्तिगत रुपमा खोलिएको जस्तो लागे पनि यो नयाँ शक्तिको अन्तरिम परिषद् र केन्द्रीय सचिवालयको निर्णयमै खोलिएको खाता हो । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन ।’
दस हजारमाथिको सहयोग चेकबाट
राजनीतिक दल बनाउन आर्थिक व्यवस्थापन आवश्यक भएकाले चन्दा आह्वान गरिएको नयाँ शक्तिको अपिलमा उल्लेख छ । बाबुरामले आफूलाई पारदर्शी देखाउन १० हजारमाथिको रकम बैंक चेकबाट मात्र लिने समेत बताएका छन् । ‘पार्टीको सहयोग संकलन पारदर्शी, उत्तरदायी र सहभागितामूलक बनाउन १० हजारमाथिको आर्थिक सहयोग बैंक चेकबाट मात्र लिइने छ ।’
भट्टराईको अपिलमा पार्टीको नियमित कामलाई आवश्यक पर्ने रकम सदस्यबाटै जुटाउने बताउँदै संक्रमणकाल व्यवस्थापन र राजनीतिक अभियान सञ्चालनका लागि आर्थिक सहयोग अभियान आवश्यक परेको उल्लेख गरेका छन् ।
नयाँ शक्तिले चन्दा संकलनका लागि कम्तिमा पाँच जनाको समूह बनाएर घरदैलो कार्यक्रम गर्ने भएको छ ।
‘नयाँ शक्ति नेपालको आधिकारिक परिचयपत्र, प्रचार सामाग्री र सहयोगका लागि गरिएको अपिलसहित कम्तिमा पाँच जनाको समूहले घरदैलो कार्यक्रम गरी सहयोग संकलन गर्ने छ,’ अपिलमा सहयोगको रसिद समेत दिने उल्लेख छ, ‘आर्थिक सहयोग लिएपछि रसिद दिइनेछ र दर्ता पुस्तिकामा विवरण चढाई दाताको दस्तखत लिइने छ ।’
अपिलमा भनिएको छ, ‘यो रकम व्यक्तिगत प्रयोजन र स्वार्थमा खर्च गरिने छैन । हामी सहयोगलाई कुनै हालतमा खेरजान दिनेछैनौँ ।’
बाबुरामको नयाँ कार्ड कार्यकारी राष्ट्रपति
संविधान निर्माणमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समतिका सभापति भएर काम गरेका बाबुरामले आर्थिक सहयोगका लागि नयाँ कार्डको प्रयोग गरेका छन् ।
‘हामी प्रतिनिधिमूलक लोकतन्त्रभन्दा अगाडि जान चाहन्छौँ । त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी (राष्ट्रपतीय प्रणाली) रहने व्यवस्थाले मात्र राजनीतिक स्थायित्व र विकास दिने हाम्रो मान्यता छ,’ बाबुरामले भनेका छन्, ‘निर्वाचनमा अस्वीकारको व्यवस्था, नेतालाई फिर्ता बोलाउने हक जस्ता नयाँ व्यवस्थाले मात्र नयाँ शक्तिको दलीय जीवन नयाँ, अझ लोकतान्त्रिक र जीवन्त हुने छ ।’
बाबुरामले यस्ता नवीन अभ्यासलाई नेपाली राजनीतिमा स्थापित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
बाबुरामको 'असल' राजनीतिक अभियान
आकर्षक शीर्षक दिइएको अपिलमा पुरानै राजनीतिक ढर्रालाई बाबुरामले विस्तारित ढंगले प्रस्तुत गरेका छन् । प्रत्येक नेताले गर्ने भद्धा राजनीतिक भाषण जस्तै बाबुरामले राजतन्त्रको अन्त्यलाई ठूलो उपलब्धि मानेका छन् ।
नयाँ शक्तिको स्थापना नयाँ लक्ष्य प्राप्तिका लागि भएको भन्दै अपिलमा भनिएको छ, ‘नयाँ लक्ष्य प्राप्त गर्न राजनीति चाहिन्छ । यसका लागि हामीले विल्कुलै फरक धारको राजनीतिक पार्टीको परिकल्पना गरेका छौँ ।’
नयाँ शक्ति घोषणा हुँदा बाबुरामले सार्वजनिक गरेका पाँच ‘स’लाई प्राथमिकताका साथ उल्लेख गरेका छन् । ‘यो पाँच ‘स’ को प्रतिवद्धताबाट सु–सज्जित पार्टी हुनेछ । समृद्धि, सदाचार, सुशासन, समानुपातिक समावेशी प्रतिनिधित्व र स्वाधीनता हाम्रा प्रतिबद्धता हुन् ।’
मुलुकलाई आधुनिक समाजवाद दिने प्रतिवद्धता व्यक्त गर्दै बाबुरामले आर्थिक समृद्धि प्राप्त गर्ने फरक धारको पार्टीको कल्पना गरेको उल्लेख गरेका छन् ।
‘हामीले विल्कुलै फरक धारको राजनीतिक पार्टीको परिकल्पना गरेका छौँ,’ उनले भनेका छन्, ‘हिमाल, पहाड र तराई–मधेसको एकतासहितको समृद्ध नेपाल बनाउनु नै नयाँ शक्तिको मूल अभिष्ट हो ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...