२० चैत, काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी कहिले काठमाडौं आउला ? उपत्यकाबासीको यो आम प्रश्नमा आयोजनाका अधिकारीहरु मौन बस्छन् । उनीहरु भन्छन्- ‘अहिले ठ्याक्कै भन्न सकिँदैन ।’
पछिल्लो सम्झौताअनुसार काम हुने हो भने आगामी बैशाखसम्म काठमाडौंमा मेलम्चीको पानी आइपुग्नुपर्ने हो । तर, आयोजनाका प्रमुख घनश्याम भट्टराई मेलम्चीको म्याद थप्ने पक्कापक्की भएपनि कति समय थप्ने भन्ने निश्चित नभएको बताउँछन् ।
सुरुङ खन्न ठकेदार कम्पनीलाई दिइने नयाँ म्याद र क्षतिपूर्तिका विषयमा आयोजनाले अहिलेसम्म निर्णय गरेको छैन । ठेकेदारले पनि अहिलेसम्म कुनै माग दाबी पेश नगरको भट्टराईले अनलाइनखबरसँग बताए । ‘ठेकेदारले सुरुङ खन्ने समयैमै सम्पन्न नभएको कारण र प्रमाणसहित क्षतिपूर्ति र थप गर्ने समय दावी गर्छ’ उनले भने-‘त्यसैअनुसार जायज कारण पेश भएमा म्याद थपबारे निर्णय लिइने भएकाले यही मितिसम्म आयोजनाले काठमाडौंमा पानी पुर्याउँछ भन्न कठिन छ ।’
मेलम्ची आयोजनाको सुरुङ खन्ने जिम्मा इटालियन कम्पनी सीएमसी डी राभेन्नाले लिएको छ । तर, विभिन्न कारण देखाउँदै सुरुङको निर्माण अत्यन्तै सुस्त गतिमा भइरहेको छ ।
आयोजनाले भर्खर ५५ प्रतिशत सुरुङ खनेर सकेको छ । निर्माण गर्नुपर्ने साढे २७ किलोकिटर सुरुङमध्ये अहिलेसम्म १५ किलोमिटर मात्र खनिएको छ । झण्डै साढे १२ किलोमिटर निर्माणको काम बाँकी नै छ ।
गत बैशाखको भुकम्पले ३ महिना ठप्प भएको सुरुङको निर्माणको काम भारतीय नाकाबन्दीमा पनि तेलको अभावले पनि रोकिएको थियो ।
मार्च महिनायता भने मेलम्चीको सुरुङ खन्ने काममा केही तीव्रता आएको छ । मार्चको पहिलो हप्ता १४५ सुरुङ खनिएको थियो भने दोस्रोमा १७६ मिटर छेडिएको थियो ।
सीएमसीले तेस्रो र चौंथो हप्तामा थप गति बढाउँदै २२८ र २४२ मिटर सुरु खनेको आयोजना प्रमुख भट्टराईले बताए ।
उनले अहिले दैनिक औसत ३९ मिटर सुरुङ खनिरहेको दावी गरे । तर, मार्च महिनाको औसत प्रगति भने दैनिक २६ मिटर मात्रै देखिएको छ । ‘दिनमा बढीमा ४४ महिटरसम्म सुरुङ खनिएको छ । त्यसलाई ५५ मिटरसम्म बनाउन सकिन्छ’ भट्टराईले भने-‘अहिलेकै गतिमा काम हुने हो भने अबको एकवर्षमा सुरुङ निर्माण सकिनेछ ।’
भूकम्पपछि आयोजनाले ०७३ को असोजसम्म काम सक्ने लक्ष्य राखेर काम गरेको थियो । तर, नाकाबन्दीले ३ महिनादेखि काम रोकिएपछि मेलम्ची आयोजना अनिश्चित देखिएको छ ।
झण्डै २७ अर्ब रुपैंयाको लागतमा निर्माणाधीन मेलम्ची आयोजनामा ४५ प्रतिशतभन्दा बढी एसियाली विकास बैंक -एडीबी) को ऋण लगानी छ ।
सरकारले सुरुवातमा मेलम्ची काठमाडौंसम्म ल्याउन २३ अर्ब ८९ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, पछि फेरि ठेक्कापट्टा गर्दा आयोजनाको २७ अर्ब ५३ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंको सुन्दरीजल ल्याउन सुरुङ निर्माण भइरहेको छ ।
०६५ माघमा काम सुरु गरेको चीनको सीआरसीसी कम्पनीले सुस्त गतिमा काम गरेपछि सरकारले ०६९को असोजमा ठेक्का सम्झौता तोडेको थियो । त्यसपछि अहिले काम गरिरहेको सीएमससँग ०७० को असारमा नयाँ सम्झौता भएको थियो ।
- अनलाइनखबर



0 comments
प्रतिक्रिया दिनुहोस्...