-->
६४ वर्षकी जानुका पोखरेलले पशुपति दर्शनको लागि जानेलाई रातो टिका लगाईदिएर दिनमा रू एकहजार.....
Advertisement

काठमाडौं चैत २२ – सेतै फुलेको कपाल, चाहुरिएको अनुहार । पशुपतिको बागमती पुलमाथि एक वृद्धा बाटो हिँड्नेलाई बोलाउँदै भन्नुहुन्छ , ‘आउनुुुस् नानी टीका लगाएर जानस् ।’ दोलखाकी जानुका पोखरेल पशुपतिमा यसरी बस्न थालेको चार वर्ष भयो । हरेक बिहान ७ बजे उहाँ पशुपति दर्शन गर्न जानेको निधारमा टीका टाँस्न पुग्नुहुन्छ । ६४ वर्षकी उहाँ पशुपति दर्शनको लागि जानेलाई रातो टीका लगाउँदै आशीर्वाद दिनुहुन्छ, ‘हाँसीखुसी रहनु, लक्ष्मी दाहिना हुन् ।’ 

अरुलाई लक्ष्मी दाहिना हुन् भनेर आशीर्वाद दिने उहाँको भने लक्ष्मी कहिले दाहिने भएकी छैनन् । उहाँको हँसिलो अनुहारले जत्ति नै बोलाएपनि कहिलेकाहीँ टीका थाप्न एकजना पनि नआउँदा उहाँलाई खिन्न लाग्छ । उहाँलाई टीका लगाउनेले दुई रुपैंयादेखि सय रुपैंयासम्म दिन्छन् । उहाँ भन्नुहुन्छ, ‘सधैँ आफ्नै कमाइले खाइरहेकी म आजसम्म पनि आफैं पालिंदै छु ।’ बुढेसकालको समयमा तीर्थ व्रत गरी हिँड्ने समयमा उहाँ बिहानै स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै मन्दिर आइपुग्नुहुन्छ । ‘अलि ढिला भो भने कि त बस्ने ठाउँ हुन्न कि त दर्शन गर्न आउने जति गइहाल्छन्’  उहाँले भन्नुभयो ।

एकदिन कान्छा छोरासँग ५० रुपैंया माग्दो मन्दिरमा टीका लगाउन जाउ, आफ्नो खर्च उठाउन सजिलो हुन्छ भनेपछि पोखरेलले यो काम थाल्नु भएको हो । अहिले उहाँले आफ्नो चिया खर्च, मोबाइलको खर्च उठाएर कान्छा छोरालाई पनि बेलाबेलामा सघाउनुहुन्छ । उहाँको कमाई एक दिनमा ५० देखि एक हजार रुपैयाँसम्म हुन्छ ।

‘बार्ह छोरा तेर्ह नाती, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान उहाँको जीवनमा पनि लागू भएको छ । बिहान टिका लगाउँन बसेर कमाएको पैसाले उहाँ आफ्नो छोरीलाई पनि सहयोग गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कर्ममा लेखेको कुरा कसले मेट्न सक्छ र । दुई छोरा र एक छोरी जन्माएपछि श्रीमान्ले दोस्रो विवाह गरे । त्यतिबेला उहाँकी छोरी तीन महिनाकी मात्र थिइन । ‘मलाई दुःख गरेर खान पनि दिएन, कुटपिट गर्दा मलाई बचाउन गाउँले आए ।’ चाउरी परेका गालाबाट आँसु खसाल्दै उहँले भन्नुभयो, ‘गाउँलेले मुद्दा गरेर जग्गा मिलाइदिए तर त्यतिले परिवार कसरी पाल्नु ।’ उहाँले गाउँमा ज्याला नै गरेर जेठो छोरालाई एसएलसीसम्म पढाउनुभयो । उहाँको कान्छो छोरा भने पशुपतिमा नै जजमानी गर्नुहुन्छ ।

जानुकाका कान्छा छोरा अपाङ्ग भएकाले छोराले कसरी परिवार पाल्ला भन्ने पीर थियो । अहिले त उहाँ आफैंले छोरालाई पालिरहनुभएको छ । दिउँसो बार्ह बजे झोला च्यापेर गएपछि नातीलाई खानेकुरा किनेर गएपछि उहाँको दैनिकी सकिन्छ । उहाँ भन्नुहुन्छ, ‘अब जहिलेसम्म ज्यानले दिन्छ, कमाउँछु, हिँड्दा हिँड्दै पुक्लुक्क मर्न पाए हुन्थ्यो ।’ हिजोआज उहाँको मिल्ने साथी मोबाइल बिग्रिएको छ । थोते हँसाइमा उहाँ भन्नुहुन्छ, ‘अब यो मोबाइल नबनुन्जेल कसैलाई पैसा दिन्न ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.