‘जायज माग पुरा हुन्छ, आन्दोलन गर्नुपर्देन’
काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–केरुङ रेलमार्ग सरकारले बनाउने घोषणा गर्नुभएको छ ।
चीनबाट काठमाडौंका लागि रेल छुटेको एक हप्तापछि शनिबार युवा संघ नेपालको २६औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पैँतालीस दिनमा काठमाडौँ आइपुग्ने सामान १० दिनमा आइपुग्ने गरी काठमाडौँ–केरुङ रेलमार्ग सरकारले बनाउने बताउनुभयो ।
‘पैँतालीस दिनमा काठमाडौँ आइपुग्ने सामान १० दिनमा आइपुग्ने गरी काठमाडौँ–केरुङ रेलमार्ग सरकारले बनाउनेछ,’ उहाँले भन्नुभयो– ‘पूर्व–पश्चिम राजमार्ग चौडा बनाउँछौँ, मध्यपहाडी (पुष्पलाल) लोकमार्गलाई तीव्रताका साथ कालोपत्रे गर्छौं ।’
त्यस अवसरमा प्रधानमन्त्री ओलीले कागज विस्थापन गरी कम्प्युटरबाटै कार्य सञ्चालन गर्ने गरी ई–गभर्नेन्स र डिजिटल नेपाल निर्माण गरिने बताउनुभयो ।
सरकारले गरिबी हटाई देश विकास गर्ने बजेट ल्याउने प्रशासन मात्र चलाउने बजेटको निरन्तरता नहुने प्रतिबद्धता पनि उहाँको थियो । युवा स्वरोजगारलाई व्यवहारमा उतार्न प्रमाणपत्र धरौटी राखेर बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।
प्राविधिकले गरेको अध्ययनबाट देशका ८० गाविसमा सडक पुर्याउन नसकिने देखिए पनि अन्य सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइएको प्रधानमन्त्री ओलीले सुनाउनुभयो ।
मधेसका जायज माग पुरा हुन्छ
यसैबीच प्रधानमन्त्री ओलीले समारोहबाटै मधेसवादी दललाई जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभयो ।
‘जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नुपर्दैन, सरकारले बोलाएका बेला वार्तामा आई आफ्ना कुरा राख्नुपर्छ, घाम सर्दै जाँदा रुखमुनिको छहारी सरेजस्तै आन्दोलन सारेर माग पूरा हुन्न’– उहाँले भन्नुभयो ।
सामन्तवादलाई समाप्त गरे पनि त्यसका आर्थिक र सामाजिक अवशेषलाई समाप्त गर्न बाँकी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । पूर्वाधार विकास र आर्थिक उन्नतिलाई केन्द्रविन्दुमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । - दैनिक नेपाल डट कम



0 comments
प्रतिक्रिया दिनुहोस्...