-->
शुक्रबारदेखि लोडसेडिङको समय घट्ने
Advertisement

loadकाठमाडौं : चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई शुक्रबारदेखि केही राहत मिल्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुनेगरी दैनिक एक घन्टा लोडसेडिङ घटाउने निर्णय गरेको छ।

एक घन्टा घटेपछि अब दैनिक लोडसेडिङको अवधि १० घन्टा हुनेछ। नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएको हो। यही कारण राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति थपिएको छ। विद्युत उत्पादन केही बढेको कारण लोडसेडिङ घटाउन लागिएको प्राधिकारणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए।

दुई साताअघि प्राधिकरणले अघोषित रुपमा दैनिक एक घन्टा लोडसेडिङ बढाएको थियो। तर धेरै दिन यस्तो अवस्था रहेन। केही दिनमै उत्पादनमा सुधार आउँदा तालिकाअनुसार नै लोडसेडिङ हुन थालेको थियो।

विद्युतको आन्तरिक उत्पादन गत वर्षको यही अवधिमा भन्दा करिब दुई सय मेगावाट कम छ। गत वर्ष भूकम्पका कारण यस बेला जनजीवन निकै कष्टकर थियो। उद्योगधन्दा बन्द भएकाले लोडसेडिङ धेरै बढेको थिएन। यस वर्ष भारतबाट थप विद्युत आयात गर्दा पनि आन्तरिक उत्पादन घटेको कारण दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएको छ।

‘लोडसेडिङ घटाउन सहज अवस्था छैन,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘अहिले बल्लतल्ल एक घन्टा घटाएका छौं । खोलामा पानीको बहाव बढ्यो भने केही दिनमै फेरि घटाउने तयारी छ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.