-->
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वैशाख १ गते शिलान्यास
Advertisement

पोखरा, लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी गराउनुभयो ।
पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर प्रदेश नं ४ का लागि गौरवको विषय भएको बताउँदै उहाँले निर्माण कार्यलाई सफल बनाउन प्रदेश नं ४ का सांसद, राजनीतिक दलका नेता तथा पर्यटन एवम् सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, कार्यालय प्रमुखसमेत रहेको मूल समिति गठन गरिएको जानकारी दिनुभयो । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्ने जानकारी दिनुभयो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय शब्द हटाइने बताउँदै उहाँले विमानस्थलको नाम के राख्ने भन्ने सम्बन्धमा उच्चस्तरीय समितिलाई सिफारिस गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार शिलान्याससँगै धावन मार्गको निर्माण प्रक्रिया अघि बढ्ने छ । “विमानस्थल निर्माणका लागि आवश्यक रकम, प्रविधि, जनशक्ति सबैको व्यवस्था गरिन्छ,” उहाँले भन्नुभयो – “निर्माण कार्यलाई प्रभावकारीरुपमा सम्पन्न गर्न स्थानीय सक्रियता एवम् अनुगमन अपरिहार्य हुन्छ ।”
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले विमानस्थल निर्माण सम्पन्न गर्न स्थानीयवासी र नागरिक समाजको सहयोग आवश्यक हुने बताउनुभयो ।
“विमानस्थल निर्माण भएर मात्र हुँदैन पोखरामा पर्यटक ल्याउन सक्नुपर्छ,” उहाँले भन्नुभयो – “धेरै पर्यटक पोखरा भित्र्याउन सकिए मात्र विमानस्थल निर्माणको सार्थकता पुष्टि हुन्छ ।”
पोखरा आउने सडक पनि व्यवस्थित गरिनुपर्ने उहाँको भनाइ थियो । सांसद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीयरुपमा गरिएका निरन्तरका प्रयत्नबाट वर्तमानसम्म आइपुगिएको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
सांसद शारदा पौडेलले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको माग समेतलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
सांसद सीता गिरीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताउनुभयो ।सांसद चूडामणि जङ्गलीले विमानस्थलको माग गर्दै पोखरेली जनताले पोखरा विमानस्थल अगाडि १५१ दिन रिले अनशन बसेको स्मरण गर्दै लामो सङ्घर्ष पछि विमानस्थल निर्माण प्रक्रिया अघि बढ्न लागेको बताउनुभयो ।
सांसद तेजकुमारी पौडेलले विमानस्थल निर्माणसँगै यस क्षेत्रका विकासको सम्भावना बढेर जाने विश्वास व्यक्त गर्नुभयो । सांसद डिबी नेपालीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पहुँच अन्तर्राष्ट्रियस्तरमा सिधै पुग्ने बताउनुभयो । स्थानीयवासी भीमसेन थापाले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको भावनाको उच्च कदर गर्न मन्त्री तथा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस ९श्रव्य तस्बिर र उपलब्ध छ l
- News24Nepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.