छन्दु, (सिचुवान), चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाबिना विकास असम्भव भएको र शिक्षाले नै विकासको स्तर निर्धारण गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा आज बिहान सिचुवान प्रान्तको छन्दुस्थित सिचुवान विश्वविद्यालयमा उहाँको सम्मानमा आयोजित स्वागत कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले सिचुवान विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये एक भएकोे र नेपालका विद्यार्थी पनि विभिन्न विधामा यहाँ अध्ययन गर्न पाउनु सौभाग्यको कुरा भएको बताउनुभयो । छन्दु सहरले चीनको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको र यसमा यस विश्वविद्यालयको पनि योगदान रहेको बताउनुभयो ।
सो अवसरमा सिचुवान विश्वविद्यालयका अध्यक्ष सिए हेपिङले नेपालमा भूकम्पबाट ठूलो क्षति हुँदा यस विश्वविद्यालयबाट पनि तुरुन्तै चिकित्सक टोली पठाइएको जानकारी दिनुभयो । उहाँले नेपाली पक्षसँग मिलेर दैवीप्रकोप उद्धार सम्बन्धमा सँगसँगै अनुसन्धान गर्न सकिने पनि बताउनुभयो ।
सो अवसरमा विश्वविद्यालयका अध्यक्ष सिएले प्रधानमन्त्री ओलीलाई उपहार पनि प्रदान गर्नु भएको थियो ।
सियान मेडिकल विश्वविद्यालयमा स्वागत
यसअघि, शुक्रबार पनि प्रधानमन्त्री ओलीको सम्मानमा साङ्सी प्रान्तको सियान मेडिकल विश्वविद्यालयमा पनि स्वागत कार्यक्रम गरिएको थियो ।
सो विश्वविद्यालयमा प्रधानमन्त्री पुग्नु हुँदा उहाँलाई विश्वविद्यालयका पदाधिकारी तथा सयौँको सङ्ख्यामा लामबद्ध विद्यार्थीले नेपाल तथा चीनका झण्डा हातमा लिई नेपालको नाम लिँदै भव्य स्वागत गरेका थिए ।
विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीन एउटा ज्ञानको भण्डार र तालिम केन्द्र जस्तो देश भएको र त्यसले हामीलाई धेरै कुरा सिकाउन सक्ने बताउनुभयो ।
यस ऐतिहासिक विश्वविद्यालयले नेपाली विद्यार्थीलाई पनि पौरख गर्न प्रेरित गर्ने बताउँदै नेपाली विद्यार्थीले यहाँ रहेर नेपालको छविलाई बढाउनेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा सोही विश्वविद्यालयमा कार्यरत नेपाली क्यान्सर विज्ञ डा राजीवकुमार झालाई विश्वविद्यालयको प्रयोगशालाको निर्देशकमा नियुक्ति दिइएको थियो ।
सोही कार्यक्रममा सियान मेडिकल विश्वविद्यालय र नेपालको नेसनल एकेडेमी अफ मेडिकल साइन्स, न्याम्सबीच सहयोग आदानप्रदान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र सियान विश्वविद्यालयका अध्यक्ष तियानले हस्ताक्षर गर्नुभएको थियो । रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...