
Advertisement
|
१८ चैत्र
काठमाडौँ : वागमती ढलमती हुन थालेपछि चार दशकअघि रोकिएको थियो पशुपतिनाथको मन्दिरमा शुद्ध जल चढाउने क्रम। वागमती सफा पार्ने अभियान वर्षौँदेखि जारी छ, तर पनि नदी सफा भइसकेको छैन।
यस्तो अवस्थामा पशुपतिनाथका लागि वागमतीको शुद्ध जल चढाउने परम्परा फेरि कायम गर्ने कसरी ?
केही अभियन्ताले उपाय निकालेका छन्- वागमती नदीको मुहान बागद्वारबाटै पाइपमा जल ल्याउने ! पशुपतिनाथ मन्दिरबाट बागद्वार करिब २५ किमी टाढा पर्छ। वागमती नदी किनारैकिनार एक इन्चको पाइप राखेर शुद्ध जल पशुपति क्षेत्रसम्म ल्याइनेछ।
वागद्वारको तुर्तुरे धारोबाट झरेको पानीमा थुप्रै सहायक खोलाहरु जोडिएर वाग्मतीले नदीको रुप पाउँछ। नागमती र स्यालमती वाग्मतीको प्रवाह बढाउने अर्को प्रमुख खोला हुन्। यसबाट आउने पानी शुद्ध नै देखिन्छ।
बाघको मुखाकारबाट झर्ने पानी भएकाले वाग्मती नाम पाएको यो नदी सुन्दरीमाई, उत्तरवाहिनी, गोकर्णेश्वर, पशुपतिनाथ, टेकु हुँदै जलविनायक मन्दिर पुगेर काठमाडौं उपत्यको यात्रा गर्छ।
सुन्दरीजल बजारको बाक्लो बस्तीबाट करिब ५० मिटर गहिरोमा रहेको वाग्मतीमा सोझै नाली र फोहर ओइरिन्छ। बजारभन्दा तीन सय मिटर माथिको वाग्मतीको पानी र बजारबाट २ सय मिटर तलको मेलम्ची सुरुङ जोड्ने पुलबाट हेर्दा वाग्मतीको रुपमा आकाश जमीनको अन्तर भेटिन्छ। वस्ती बाक्लिँदा वाग्मती कुरुप हुनेक्रम यहीँबाट सुरु हुन्छ।
सम्बन्धित समाचार
वाग्मतीमा फोहर हुन नदिने कि सँधै सफा गरिरहने ?
कस्तो छ वाग्मतीको अवस्था हेर्नुस् भिडियो रिपोर्ट
यस्तो देखियो आकाशबाट हेर्दा वाग्मतीमा मानव साङ्लो, हेर्नुस् फोटो र भिडियो
माता गुह्येश्वरी तथा श्री पशुपतिनाथ जलधारा व्यवस्थापन समितिले आज आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले बागद्वारबाटै जल ल्याउने अभियान सुरु गरिएको जानकारी दिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, स्वामी कालीदास बाबा, डा रामप्रसाद उप्रेती, समितिका अध्यक्ष नीरविक्रम पौडेल, महासचिव शङ्कर पौडेल र अभियन्ता द्वारिकामानसिंह प्रधानलगायतले जनस्तरबाटै सहयोग जुटाएर बाग्मतीको शिर बागद्वारबाटै पाइपमा शुद्ध जल ल्याउन लागिएको बताए।
यसअघि पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले पनि सुन्दरीजलबाट पशुपतिमा छुट्टै पाइपबाट शुद्ध जल ल्याउने सम्भाव्यता अध्ययन गरेका थिए। मङ्गलबार स्वामी कालीदास बाबाले कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा शुद्ध जल ल्याउने स्थलको शिलान्यास गरेका थिए।
पशुपतिका भक्तबाट जुटाइएको सहयोगले गुह्येश्वरी र पशुपतिमा बागद्वारबाटै शुद्ध जल ल्याउन पहल थालिएको समितिले जनाएको छ।
- पहिलोपोस्ट



0 comments
प्रतिक्रिया दिनुहोस्...