काठमाडौं, ६ चैत । लखनउ विश्वविद्यालयबाट भर्खर स्नातोकोत्तर गरेर फर्केको तर कुनै पार्टीमा नलागको ठिटो राजा महेन्द्रको नजरमा परेर विदेश मन्त्री बन्ने सौभाग्य पायो । लगत्तै प्रधानमन्त्री बनिएला भन्ने त उनलाई पनि विश्वास थिएन । तर उनी एकपटक होइन । तीन पटक प्रधानमन्त्री र महेन्द्रका बाउ छोराको कालमा दुई पटक उपाध्यक्ष समेत भए कीर्तिनिधि विष्ट ।
कीर्तिनिधि विष्टले चिनियाँ क्रान्तिका नायक माओलाई भेटे, चाओसंग विशेष सम्बन्ध बनाए, देंग स्याओ पिंगले त विष्टले कहिल्यै नभुल्ने सुझाव र सल्लाह दिए । नेपालमा उनलाई भारतीयहरुले प्रो चाइनिज भन्ने अभियोग लगाइरहन्छन् । तर इन्दिरा गान्धीले पहिलोपट पंचेश्वर परियोजनाको कुरा उठाउंदा कीर्तिनिधिले भनेका थिए यो हामीले थ्रो अध्ययन गर्दछौं । दुवैलाई हित हुने भए गरौंला नभए थप छलफल गरौंला भन्ने जबाफ दिएका थिए । त्यसपछि पंचेश्वर एकैटपट बहुदलबादी प्रधानमन्त्री र नेताहरुका हातमा भारतले थमाइदियो ।
कीर्तिनिधि विष्टले सम्झन्छन् राजा महेन्द्रले जनताबाट निर्वाचित भएको प्रधानमन्त्री विपी कोइरालालाई हटाएर शासन हातमा लिए तर सधैं महेन्द्रले पञ्चहरुलाई विश्वेश्वर जस्तो प्रधानमन्त्री चाहिन्छ भन्दै डांठेको विष्ट सम्झन्छन् ।
चीनले नेपालको अहितमा कहिल्यै कुरा गरेन । तर नेपाली नेतृत्वे बुद्धि नपुर्याएका कारण देश पछि पर्यो भन्दै विष्टले आफूलाई पनि धिक्कार्छन । विष्टको बुझाईमा राजा महेन्द्रको पदचापमा बीरेन्दै हिंडेको भए देश उहिल्यै कहांबाट कहां पुग्ने थियो । एकपटक पूर्व पश्चिम राजमार्ग बनाउन चिनियाँहरुले सघाउने भए । ग्लोबल टेण्डर पनि भयो । चिनियाँहरुले बाटो बनाउने भए । तर कसले के कुरा लगाइदियो । बीरेन्द्र निर्णयमा अड्न सकेनन् । चिनियाँहरु फिर्ता भए । त्यसको केही समयपछि विष्ट चीन जांदा चाओ एनलाईले सोधे यस्तोतालले तिमीहरुको कहिले विकास हुन्छ ?
केही सयम पहिले लोकेन्द्रबहादुर चन्दले पनि एबीसीसंग कुरा गर्दै त्यो घटना बताएका थिए । विष्टको सुझाव छ चिनियाँहरुसंग माग्ने मात्र होइन आफूले के गर्न लागेको हो भन्ने बचनमा पनि टिक्न सक्नु पर्दछ । अहिले ओलीलाई अवसर आएको छ । तर यिनको भर गर्न सकिंदैन भन्छन् विष्ट ।
यिनै ओलीले महाकाली सन्धिपछि एक खर्ब २० अर्ब वर्षेनी आउंछ भन्दा आफू महाकाली सन्धिको विरोधमा सडकामा कराइरहेको घटना समेत रोचक तरिकाले सुनाए विष्टले ।



0 comments
प्रतिक्रिया दिनुहोस्...