काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदको कुर्सी चाहिएको नभई छिमेकीसँगको सम्बन्ध सुधार्दै मुलुकलाई आर्थिक विकासमा डोर्याउन चाहेको बताएका छन् ।
‘मलाई प्रधानमन्त्रीको कुर्सी चाहिएको होइन । भारत र चीनसँगको सम्बन्ध सुधार्नुपरेको थियो, जुन सम्बन्धमा अहिले सुधार आएको छ,' रिपोर्टस क्लबको चौथो अधिवेशन एवं १८ औं वार्षिकोत्सवका अवसरमा सञ्चारकर्मीहरूलाई पुरस्कृत गर्दै प्रधानमन्त्री ओलीले भने ।
केही समयभित्रै काठमाडौं–पोखरा सडक, मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, पोखरा–लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने दाबी प्रधानमन्त्री ओलीले गरे । आगामी वैशाखभित्र यी सबै कार्य अघि बढिसक्ने दाबी पनि उनले गरे । आफ्नो भारत र चीन भ्रमणले दुई छिमेकीसँग सम्बन्धको उचाइ बढाएको दाबीसमेत प्रधानमन्त्री ओलीले गरे ।
‘नेपालको विकास भोलि भन्ने शब्दले बिगार्यो, अब भोलि होइन आज, अहिल्यै हुनेछ र हुनुपर्छ,' प्रधानमन्त्रीले भने । भ्रष्टाचार निर्मूल गर्ने र स्थलगत रूपमा नै दण्डित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘निर्यात गर्न नसके पनि आयात रोकौं । त्यसका लागि टेक्स्टायल, सुती, कपासको विकास गरौं,' प्रधानमन्त्रीले भने ।
मुलुकमा नाकाबन्दी हटिसकेकाले इन्धनलगायतका सामग्री सर्वसुलभ हुनुपर्ने उनले बताए ।
‘मेरो भारत भ्रमणले असमझदारी समाल्दै, सच्याउँदै सम्बन्ध सामान्यीकरण गर्न सफल भयो,' प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भारतविरुद्ध छैन र हुनु हुँदैन । भारतको अहित चिताउने कार्य नेपालले गर्नै सक्दैन ।' दुवै छिमेकीसँग आत्मीय र मैत्रीपूर्ण सम्बन्ध रहेको उनले उल्लेख गरे । ‘अबको बाटो एमाले नेतृत्वमा कांग्रेस सहभागी सरकार हो,' उनले भने, ‘सन् २०१५ भूकम्प र इमानजमानको कारण बिग्रियो, आगामी दिनमा ती सबैमा सुधार हुने अपेक्षा गरेको छु ।'
उनले सत्ताका लागि कांग्रेसले भद्र सहमति ब्रेक गर्दै प्रधानमन्त्री पदमा दिएको उम्मेदवारीप्रति व्यंग्य गर्दै आगामी दिनमा त्यस्तो हुन नहुने र सहमतिमै अगाडि बढ्नुपर्ने धारणा राखे । मधेसी मोर्चातर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘दूध खान गाई नै पाल्नुपर्छ, जुलुस गरेर दूध खान पाइँदैन ।' भावावेशमा नभएर देशविकासमा जुट्न उनले सबैलाई आग्रह गरे ।
सभामुख घर्तीमगरले नयाँ संविधान कार्यान्वयन अहिलेको सबैभन्दा ठूलो चुनौती भएकाले दलहरूबीच सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन् । तराईमधेसमा बसोबास गर्ने मधेसी र थारूहरूले हाम्रो सीमा र साँध भन्दै यो देशको रक्षाका लागि गरको त्याग र समर्पणको सम्मान पनि नयाँ संविधानबाटै हुने उनले बताइन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा वार्ता र संवादबाट समाधान नहुने समस्या नै नरहेको बताए । उनले भने, ‘हामीबीचको संवाद र सहमतिबाटै मुलुकमा रहेका प्रत्येक समस्याले निकास पाउनेछ । मधेस आन्दोलनको निकास पनि संवाद हो । अब आन्दोलन होइन, उपेन्द्रजी वार्तामा आउनु होस् । सीमांकन मिलाउन वार्ता गर्न म तयार छु ।'
नयाँ संविधान स्वीकार्य हुँदैन: यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान आन्दोलनरत मधेसी मोर्चाका लागि स्वीकार्य हुन नसक्ने बताए । उनले भने,‘कोही व्यक्तिलाई प्रधानमन्त्री र कसैलाई राष्ट्रपति बनाउने इच्छाबाट आएको संविधानको औचित्य र आवश्यकता छैन ।'
वर्तमान सरकारलाई चुनौती दिँदै यादवले भने, ‘अहिले त नाकाबन्दी छैन, बजारमा आज पनि किन इन्धन र ग्यास सहज हुन सक्दैन ? यो सरकार कालोबजारीबाट सञ्चालित भएकै कारण बजार सर्वसाधारणका लागि सहज हुन सकेन ।'
भट्टराईको पुरस्कार क्यान्सर केयरलाई
कार्यक्रममा तारणीप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का नायब सम्पादक चूडामणि भट्टराई र नेपाल टेलिभिजनका नायब सम्पादक राजु सिलवाल पुरस्कृत भए । त्यस्तै गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कारबाट नागरिकका सम्पादक गुणराज लुइँटेल र देशान्तर साप्ताहिकका सम्पादक कबिर राणा पुरस्कृत भए ।
तारिणीप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट पुरस्कृत अन्नपूर्ण पोस्ट्का नायब सम्पादक भट्टराईले आफूले पाएको पुरस्कारको २५ हजार राशि क्यान्सर केयर फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्याललाई सोही कार्यक्रममा सभामुख ओनसरी घर्तीमगरमार्फत हस्तान्तरण गरेका थिए । यस्तै नागरिक दैनिकका सम्पादक लुइँटेलले पुरस्कारमा आफूले पाएको ५० हजार रुपैयाँ समता शिक्षा निकेतनलाई कार्यक्रमस्थलमै हस्तान्तरण गरे ।
कार्यक्रममा कृष्णसेन इच्छुक पुरस्कार रातोपाटी अनलाइनका सम्पादक ओम शर्मा, उमासिंह पत्रकारिता पुरस्कार इमेज च्यानलका वरिष्ठ समाचारदाता सरस्वती कर्माचार्य, बाबुछिरी फोटो पत्राकरिता पुरस्कार अमूल थापाले पाए ।
यस्तै वीरेन्द्र शाह पत्रकारिता पुरस्कार द हिमालयन टाइम्सका ब्युरो चिफ रामकुमार कामत, सर्वोकृष्ट युवा पत्रकारिता पुरस्कार कान्तिपुरका वरिष्ठ उपसम्पादक वसन्त बस्नेत, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार द काठमाडौं पोस्ट्का वरिष्ठ उपसम्पादक कमलदेव भट्टराई, कुलप्रसाद चेतकुमार धमला पुरस्कार मोफसल वाणी नेटवर्कका समाचार निर्देशक दामोदर दवाडीलाई प्रदान गरिएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...