दोस्रो संविधानसभा निर्वाचनभन्दा पूर्वको राजनीतिक क्षेत्रबाट निकास ननिस्कने ज्योतिषीय विश्लेषण नेपाल समाचारपत्र (२०६८ असार ९) मा र त्यस्तै भावको अर्को विश्लेषण अन्नपूर्ण पोष्ट (२०६९ पुस २८) मा दिएको थिएँ । परिणाम त्यतिबेलाको राजनीतिक
संयन्त्रबाट निकास ननिस्किएर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठन भयो । सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बनेको सरकारले पनि चुनाव गराउन सक्ने वा नसक्ने शंकाका कुराहरू उठ्थे । खिलराजजीको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउन सक्ने कुरा अन्नपूर्ण पोष्ट (२०७० असार २५) मा लेखें, सो पनि पूरा भयो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि केही ज्योतिषीबाट सो संविधानसभाबाट पनि संविधान आउन नसक्ने धारणा आइरहेको बेला मैले धर्मलाई सम्बोधन गरेको खण्डमा दोस्रो संविधानसभाले संविधान दिनसक्छ भनेको थिएँ (कमाण्डर पोष्ट २०७० फागुन ११) । त्यस्तै २०७१ माघ ८ भित्र संविधान आउन नसक्नाको कारणलाई दर्शाएर लेखिएको लेख इन्द्रेणी साप्ताहिकको २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका २०७१ मा प्रकाशन भयो । संविधान आउँदा इन्द्रेणीको २६ औं वार्षिक स्मारिकामा मैले लक्षित गरेका सबै विषय समेटिएर भने आएको छैन तथापि प्रमुख विषयलाई समेट्न खोजिएको भान हुन्छ । संविधान घोषणाको मुहूर्तको ग्र हपरिस्थितिलाई हेर्दा यो संविधानको भविष्य कस्तो हुने भन्ने विषयमा सन्देह छ ।
नयाँ संविधान २०७२ घोषणा हुँदा नेपाली आकाशको क्षितिजमा मीन लग्न उदाइरहेको देखिन्छ । कुण्डलीमा लग्नेश तथा दशमेश बृहस्पति द्वितीयेश तथा नवमेश मंगलसँग शनिको दृष्टिमा षष्ठम् भावमा गएर बस्नुले आत्मरक्षाभन्दा पनि शत्रुपोषक भएको देखिन्छ । यसले यो संविधानलाई आधार मानेर गरिने देशका हर कार्यमा शत्रुको प्रभाव बढाउने छ । हुनलाई मंगल छैठौं हुनु, त्यसमाथि शनिको दृष्टिप्रभाव हुनु शत्रुहन्ता योग पनि हो । मेरो दृष्टिकोणमा मैले गरेका ज्योतिषीय विश्लेषण एवम् भविष्यवाणी जो सार्वजनिकरूपमा बाहिर आए, अहिलेसम्म भएका घटनाक्रमले ती पूरा भएको मेरो बुझाइ छ । संविधानमा धर्मनिरपेक्ष शब्द नहटाए पनि परिभाषाको अनुसूचि राखेर सनातनधर्मलाई सम्बोधन भएको छ । ज्योतिष विज्ञानले देखाएको संकेत अकाट्य नै हुन्छ भन्ने प्रमाण हो त्यो । भलै ज्योतिषीले त्यसलाई अभिव्यक्त तथा अर्थ गर्ने तरिका फरक–फरक हुनसक्छ र घट्ने घटना परकारान्तरको घट्न सक्छ । त्यस्तै नै भएको देखाउँछ अनुसूचिको परिभाषाले ।
संविधानजारी भएपछि धेरै महानुभावहरूले यो संविधानसँग जोडेर अबको भविष्यको बारेमा जिज्ञाशा राख्नु भएको छ र एउटा ज्योतिषीको नाताले नेपालको संविधान २०७२ को बारेमा आफ्नो बुद्धि विवेकले भ्याएसम्मको विश्लेषण दिन खोजेको छु ।
यहाँनिर एउटा ज्योतिषीको नाताले मैले संविधान जारी हुँदाको समयको कुण्डलीको आधारमा जे देखिन्छ अथवा मेरो बुद्धि विवेकले जे देख्छ त्यो राख्नुपर्छ । मेरो ज्योतिषीय दृष्टिकोणमा यो संविधान घोषणाको समयको ग्रहावस्था राम्रो देखिँदैन र त्यसले नेपालीको अपेक्षा पूरा गर्ने कुरामा शंका छ । भलै यस मामलामा मैले एउटा नेपाली नागरिक हुनाको कारणले पनि बनेको संविधानबाट देशको समुन्नतिहोस् भन्ने चाहनुपर्छ । बरु मेरो ज्योतिषीय विश्लेषण गलत सावित होस् र नेपाल–नेपालीको भविष्य कोर्न बनेको संविधान सफलहोस् भन्ने चाहनुपर्छ । त्यसमा नै मलाई सन्तुष्टि हुनेछ । तर, बनेको संविधानको ग्रहस्थिति राम्रो नदेखिएको कुरालाई पनि मैले यहाँ आफ्नो पेशागतधर्मबाट राख्नु पर्छ भन्ने मेरो बुझाई छ ।
नेपाली जनताको ठूलो त्याग–तपस्या र संघर्षको बलबाट बनेको संज्ञा प्राप्त नेपालको नयाँ संविधान २०७२ घोषणा हुँदा नेपाली आकाशको क्षितिजमा मीन लग्न उदाइरहेको देखिन्छ । कुण्डलीमा लग्नेश तथा दशमेश बृहस्पति द्वितीयेश तथा नवमेश मंगलसँग शनिको दृष्टिमा षष्ठम् भावमा गएर बस्नुले आत्मरक्षाभन्दा पनि शत्रुपोषक भएको देखिन्छ । यसले यो संविधानलाई आधार मानेर गरिने देशका हर कार्यमा शत्रुको प्रभाव बढाउने छ । हुनलाई मंगल छैठौं हुनु, त्यसमाथि शनिको दृष्टिप्रभाव हुनु शत्रुहन्ता योग पनि हो । तथापि लग्नमा केतुको स्थिति र राहुको दृष्टि तथा शनि आदि पाप ग्रहको भूमिकालाई हेर्दा दुर्घटनाकारक योगको निर्माण भएको छ जसले राजनैतिकलगायतका आकस्मिक विभिन्न दुर्घटनालाई लक्षित गरिरहेको छ ।
चतुर्थेश एवम् सप्तमेश बुधले षष्ठेश सूर्यसँग बुधादित्य योग बने पनि साथको राहुले ग्रहण योग बनाएको पनि छ । जसले गर्नपर्ने शुभफलमा कटौती गरिदिने छ । वैदेशिक सम्बन्ध, यात्रा, व्यापार आदि क्षेत्रमा ग्रहण लाग्छ ।
पञ्चमेश नवम् हुनु सकारात्मक कारक हो । तर, शनियुक्त हुनाले राज्यमा मनोवैज्ञानिक तथा अदृष्य समस्या बढाउने हुन्छ । भय–त्रास, शंका–आशंका आदिले राज्यका अंगअंगमा प्रभाव पार्ने छ । तृतीयेश तथा अष्टमेश शुक्र पञ्चममा केतुको दृष्टिमा अकारक भएर रहनुलाई पनि शुभ मान्न सकिँदैन, यसले रोगव्याधिको संकेत गर्छ ।
Jyotish
बल गरेरै यो कुण्डलीमा सकारात्मकपक्षको खोजी गर्दा – दशमेश तथा लग्नेश र धनेश एवम् भाग्येश छैंठौंभावमा हुनुले नागरिक, वर्ग, पक्ष एवम् राज्यका अधिकारीहरूलाई प्रतिस्पर्धा आदि संघर्षका कामहरूको अभ्यास गर्न सिकाउने ग्रह हो भन्न सकिन्छ । यसले सम्बन्धित क्षेत्रमा क्रियाशीलता बढाउने र आत्मनिर्भरताका उपायहरू अवलम्बन गर्न खोज्ने जस्ता काममा उत्प्रेरित गराउन मद्दत गर्नेछ ।
भलै उन्मादि एवम् अन्धविश्वासीतर्फ उत्प्रेरित हुन राज्यका निकाय एवम् आमसर्वसाधारणलाई बाध्य गराउने सम्भावना भए पनि नवमेश मंगल गुरुयुक्त हुनाले र नवौंमा चन्द्रमा रहनाले केहीहदसम्म यसले धार्मिक क्षेत्र एवम् कार्यको विकास गर्न मद्दत गर्ने छ । मनोवैज्ञानिक ढंगले सम्पादन हुने कार्यहरुको विकास हुनेछ ।
जन्मँदै बालारिष्ट परेको बच्चाको जस्तो ग्रहस्थिति देखिएकाले यसको आयुकै विषयमा सन्देह देखिन्छ । देश विकासभन्दा पनि आङ्गिक तथा आन्तरिक समस्यामा बढी अल्झाइरहने वातावरण सिर्जना हुने ग्रहले देखाइरहेको छ । छोटो समयमै यसको विकल्पको खोजि नहोला भन्न सकिन्न । राज्यका अंगहरूमा विभिन्न बहानामा टकराव सिर्जना हुनेछन् । ग्रहण योगमा भए पनि बुध ग्रह स्वगृही भई सूर्यसँग द्विस्वभाव राशिमा बुधादित्य योग बनाएर रहेकाले संघर्षले केही राम्रा काम गराउन मद्दत गर्नेछ । नजिकको छिमेकीबाटभन्दा थोरै परको छिमेकीबाट सहयोग एवम् लाभ लिन सकिनेछ । लाभेश र व्ययेशको स्थितिलाई ठिकै मान्न सकिन्छ । यसले जलस्रोतबाट हुने आम्दानी एवम् विकासलाई मद्दत गर्नेछ । ऋण–अनुदान सहयोग आदिको पक्षलाई यसले भूमिका निर्वाह गरेको छ ।
उपर्युक्त ग्रह स्थितिलाई हेर्दा संविधान घोषणा कालको कुण्डलीमा केही पक्ष सकारात्मक रहे पनि लग्नेश एवम् कर्मेश गुरु र भाग्येश तथा धनेश मंगलले शत्रु क्षेत्रसँग आत्मसमर्पण गरेको र लग्नमा केतुको स्थिति रहेकाले अप्ठ्यारो–आत्मघात आदिलाई बढी लक्षित गरेको देखिन्छ । जसका कारणले यो संविधानलाई आधार मानेर गरिने कार्यबाट देशको समुन्नति, राष्ट्र–राष्ट्रिय भावना, नागरिक एवम् सामाजिक सद्भावलाई झन्–झन् कमजोर बनाउन सक्ने देखिन्छ ।
यो संविधानले दिगो मान्यता पाउन कठिन देखिन्छ । जन्मँदै बालारिष्ट परेको बच्चाको जस्तो ग्रहस्थिति देखिएकाले यसको आयुकै विषयमा सन्देह देखिन्छ । देश विकासभन्दा पनि आङ्गिक तथा आन्तरिक समस्यामा बढी अल्झाइरहने वातावरण सिर्जना हुने ग्रहले देखाइरहेको छ । छोटो समयमै यसको विकल्पको खोजि नहोला भन्न सकिन्न । राज्यका अंगहरूमा विभिन्न बहानामा टकराव सिर्जना हुनेछन् । संविधानका धेरै व्यवस्थाहरू निरोपयोगी हुनसक्ने छन् ।
यी कुरा अहिले घट्दै गरेका तथा घट्न थालेका घटनाक्रमलाई हेरेर र हचुवाको भरमा अभिव्यक्त गर्न खोजिएको होइन । यसमा सम्बन्धितहरूले आ–आफ्नो ठाऊँबाट सोधखोज गर्न सक्नुहुने छ भने ज्योतिर्विद्हरूले पनि विश्लेषण गरी उचित मार्गदर्शन गर्न सक्नुहुनेछ ।
राज्यले महत्वपूर्ण काम सम्पादन गर्दा ज्योतिष विज्ञानले निर्देशन गरेको मार्गदर्शनलाई आत्मसात गरेर गर्नुपर्छ तर नेपालमा त्यसको अनुसरण हुन छाडेको देखिन्छ । जसले गर्दा राज्य तथा राजनीतिक दलहरूले गर्ने कार्यबाट देश र जनताले दुःख कष्ट व्यहोर्न परिरहेको छ । ज्योतिष विज्ञानलाई वेवास्ता गरिँदा अहिलेसम्मका जनसंघर्षहरू र ति जनसंघर्षका उपलब्धिहरू बालुवामा पानी खन्याए सरि भइरहेका छन् । संविधानसभाबाट संविधान निर्माण गरेर जारी गर्ने जस्तो अति महत्वपूर्ण कार्यमा समेत सो कुराको हेका राखिएन । जसले गर्दा संविधान जारी भएकै क्षणदेखि विपरित फलका लक्षणहरू प्रतित हुन थालिसकेका छन् । खुशियालीको सट्टा विरोधका स्वरहरू गुञ्जिरहेका छन् । संविधान जस्तो विशेष महत्वपूर्ण विषयको घोषणा तथा निर्णय गर्दा मुहूर्त विज्ञानलाई वेवास्ता गरी देश र जनताप्रति गरिएको गैरजिम्मेवारी कार्यप्रति राजनीतिक क्षेत्रलाई नागरिकले धिक्कार्ने शिवाय के स्यावासी दिन सक्छन् र !
यो नयाँ संविधान २०७२ को बारेमा दिइएको ज्योतिषीय दृष्टिकोण हो । उपर्युक्त फल विभिन्न तवरबाट प्रकारान्तरबाट घटित हुनसक्ने हुन्छ । यो दृष्टिकोणबाट सम्बन्धित पक्ष एवम् आमनागरिकले आउन सक्ने समस्याको निरुपणको लागि अपनाउन पर्ने उपायहरू अवलम्बन गर्न अथवा खोज्न सक्नु अर्थात् सकून भन्ने ज्योतिष विज्ञान तथा ज्योतिषीको उपादेयता हो । अस्तु ।



0 comments
प्रतिक्रिया दिनुहोस्...