चैत २४
चैत्र १६ गतेको घटना हो यो । दुर्गम जिल्ला अछाममा रहेको बयालपाटा अस्पतालमा त्यहाँको बिकट गाउँ षोडशा देवीबाट २० बर्सकी महिला पेट दुख्ने समस्या लिएर आएकी थिइन् । दुई महिनाअघि मात्रै बिहे गरेकी उनी एसएलसी परीक्षाको तयारी गर्न माइत आएकी रहिछन् । उनलाई पेट दुख्न थालेको करिब ७ दिन भएको रहेछ । पेट दुख्न थालेको करिब ३ दिन हुँदा छिमेकि गाबिसको एउटा मेडिकलमा जाँच पनि गराएकी रहिछन् । त्यही मेडिकल हलबाट दिएको औषधि खाएर दुखाई केहि कम भए पछि घरमा गएकी रहिछन् ।
दुखाई फेरि बढेपछि उनलाई बयालपाटा अस्पतालमा ल्याइएको थियो । हामीले जाँच गर्दा स्थिति गम्भीर लाग्यो । २० वर्षकै उमेरमा शरीरमा रगत निकै कम । हामीले त्यसको कारण पत्ता लगाउन कोशिस गर्यौं । भिडियो एक्सरे गर्दा उनको पेटमा धेरै रगत जम्मा भएको पायौं ।
पिसाबको जाँच र भिडियो एक्सरे रिपोर्ट मिलाउँदा उनी गर्भवती रहिछिन् । साधारणतया गर्भ पाठेघरमा रहन्छ तर उनको गर्भ पाठेघर बाहिर, पाठेघरको दाहिनेतिर बसेको रहे । गर्भ बढ्दै जाने क्रममा त्यो फुटेर पेट भित्र रगत जमेको रहेछ । त्यसपछि पेटभित्रै रगत बगेको बग्यै भएछ । जबसम्म रगत बग्ने नशा पत्ता लगाई बन्द गरिदैन तबसम्म रगत बगी रहन्छ र रगतको कमीले मानिसको ज्यान जान सक्छ ।
उनको रगत धेरै नै कम थियो र धनगढी अथवा नेपालगञ्ज रिफर गर्दा पुग्न मात्रै कम्तिमा १० घण्टा लाग्ने भएकोले र हामीसँग बिरामी बचाउन त्यति धेरै समय नभएकोले सबै जानकारी बिरामीको आमा र अरु आफन्तलाई दियांै । उनलाई गर्नुपर्ने सर्जरी अछाम जिल्लामा अहिलेसम्म भएको थिएन । हामीले सर्जरीको बारेमा सबै जानकारी दियौं तर समस्या रगत दिने दाताहरु भेटिनमा लाग्यो । अस्पतालको कर्मचारी र खप्तड सशस्त्र प्रहरीको सहयोगमा रगत जम्मा गर्यौं सर्जरीको सबै तयारी गर्यौं ।
सर्जरीको लागि डा. सन्तोष कुमार ढुंगानाले बिरामीलाई बेहोस बनाउनु भयो । बेहोस बनाउन डा. ढुंगानालाई स्टाफ नर्स पूजा थापा ले साथ दिनुभयो । राजेश्वरी चौधरी सिस्टरले स्क्रब गर्नुभयो अनि म बिरामीको सर्जरी गर्नतिर लागथें । बिरामीको पेटभित्र करिब दुई लिटर रगत जमेको रहेछ । हामीले सबै निकाल्यौ । दाहिने फओपियन ट्युबमा बसेको गर्भ निकालेर फाल्नुपर्ने भएकोले निकाल्यौं र पेट सफा गर्यौं । पेटको दाहिने भागमा पेट भित्र जमेको रगत वा फोहोर पानी निकाल्न पाइप राख्यौं । फुटेको नशा बाध्यौं अनि दाहिने फलोपियन ट्युब निकाल्यौं । साथै हामीले दाताबाट जम्मा गरेको रगत पनि चढाउन सुरु गर्यौं ।सफलता पूर्वक सर्जरी सकेर बिरामीलाई वार्डमा सार्यौं ।
३ पोका रगत चढाएपछि अवस्थामा सुधार आयो । अस्पतालमा केही दिन राखेपछि उनी निको हुँदै गइन् । उनलाई एसएलसी परीक्षा दिने व्यवस्था मिलाउन हामीले खोज्यौैं । अस्पतालले गम्भीर बिरामी भएको भनि जिल्ला शिक्षा कार्यालयलाई चिठी पत्र पठाउँदा पनि उनलाई एसएलसी परीक्षा दिनबाट बञ्चित गरियो । यसै पनि बिरामी उनको पढाई एक बर्ष पछाडी धकेलिदियो । जिल्ला शिक्षा कार्यालयको टोलीलाई सोध्न मन छ, ‘यदि तपाईको आफन्तलाई यस्तो सर्जरी गर्नु परेको भए कसरी एसएलसी दिन लगाउन हुन्थ्यो ?’
चैत्र २३ गते सर्जरी गरेको सात दिनमा पेटमा लागेको टाका पनि निकालियो । चैत्र २४ गते अर्थात् आज उनलाई अस्पतालबाट घर पठाइयो । अछाम जस्तो दुर्गम जिल्लामा पनि यस्तो गम्भीर सर्जरी गरेर ज्यान बचाउन पाउने शौभाग्य पाएकोमा अझ धेरै खुशी लागेको छ । नेपालको ७५ वटै जिल्लामा २४सै घन्टा सल्यक्रियाबाट प्रसुती सेवा उपलब्ध गराउन सकिन्छ भन्ने यसले महशुस गराएको छ । सरकारले यतातिर ध्यान दिए मातृमृत्युदर न्युनिकरणमा सफलता मिल्न सक्थ्यो ।- Swasthya Khabar Patrika



0 comments
प्रतिक्रिया दिनुहोस्...