ट्राफिक इन्सपेक्टर सीताराम हाछेथुले छोरालाई जरिवाना तिराए, सांसदलाई बग्गीखाना पठाए !काठमाडौं–ट्राफिक व्यवस्थापनमा ‘अब्बल अफिसर’ का रुपमा कहलिएका इन्सपेक्टर सीताराम हाछेथुले ‘लेन क्रस’ गर्दा थापाथली चोकमा समातिएका छोरा शिरीष हाछेथुलाई पाँच सय जरिवाना तिराएका छन् ।
कुपण्डोलबाट माईतिघरतिर जाँदै गर्दा लेन मिचेको भन्दै थापाथलीका ट्राफिकले शिरीषको मोटरसाईकल नियन्त्रणमा लिएका थिए । मोटरसाईकल समातेपछि शिरीषले ललितपुरको ट्राफिक इन्चार्ज समेत रहेका बावु हाछेथुलाई फोन गरेर सोधे, ‘ड्याडी थापाथलीमा लेन क्रस गरेको भन्दै ट्राफिकले मेरो मोटरसाईकल समात्यो के गर्ने ?’
इन्सपेक्टर सीतारामले उत्तर दिए, ‘ए ! ठिकै छ, अहिले त्यहाँ लाईसेन्स बुझाएर जानु !’ शिरीषले ‘हुन्छ ड्याडी’ भन्दै लाईसेन्स दिए चिट लिएर हुँईकिए । यो केहि दिनअघिको घट्ना हो, भोलिपल्ट छोरालाई ‘बिहान नौ बजे बग्गीखाना आउनु भन्दै’ घरबाट निस्किएका हाछेथुले बग्गीखानामा पाँच सय थमाउँदै छोरालाई भने, ‘जरिवाना तिरेर कक्षा लिनु, अनि लाईसेन्स निकालौंला !’
‘शिरीषले मोटरसाईकल चलाउन थालेको पाँच बर्ष भयो, पहिलो पटक लेन क्रसको कक्षा लिएपछि उसले धेरै कुरा थाहा पाएको छ’ सोमबार आफ्नो कार्यकक्षमा हाछेथुले भने, ‘अब मेरो छोराले कहिल्यै लेन मिच्दैन ।’
ट्राफिक महाशाखाको प्रमुखमा डिआईजी प्रकाश अर्याल आएसँगै सडकमा लेन क्रस गर्नेहरुमाथी ट्राफिकले कडा निगरानी राखेर कारवाही अगााडी बढाएको छ । त्यस्तोमा महाशाखाको निर्णय कार्यान्वयन गराउन बिहान ६ बजेदेखी बेलुकी १० बजेसम्म सड्कमा रहने हाछेथुले बहालवाला सांसदलाई समेत बग्गिखाना पठाईदिएको पाईएको छ ।
गोप्रो क्यामेराले सांसदलाई समातेपछि केही दिनअघि सिताराम हछेथु कुपण्डोलमा ट्राफिक जाम खुलाउँदै थिए । उनको साथमा गोप्रो क्यामेरा कहिल्यै टुट्दैन । त्यस्तोमा तिन जना मानिसले एकैपटक लेन मिचेर अगाडी बढे । सितारामले सिठ्ठी फुकेर रोके । सबैभन्दा अघिल्लो मोटरसाईकल सांसदको लोगो लगाएका ब्यक्तिले हाँकेको देखेपछि उनलाई ‘सर, जय नेपाल’ भन्दै हाछेथुले लाईसेन्स मागे । ‘उहाँले लाईसेन्स दिन आनाकानी गर्नुभो’ सभाषद्को नाम उल्लेख नगर्ने शर्तमा हाछेथुले भने, ‘तपाईलाई छाड्दा पछाडीका दुई जनाले आन्दोलन गर्छन्, भनेर माननिय ज्युको लाईसेन्स राखेँ चिट दिएर पठाएँ ।’
मोटरसाईकल स्टार्ट गर्दै ति सांदसले सोधे, ‘लाईसेन्स लिन के–के गर्नुपर्छ ?’ हाछेथुले जवाफ दिए, ‘केही गर्नुपर्दैन सर, भोलि विहान बग्गिखानामा पाँच सय तिरेर एक घण्टा कक्षा लिएपछि फिर्ता पाईन्छ ।’ सांदस हुँईकिए, सीताराम सिठ्ठी फुक्न थाले ।
लेन मिच्नेहरु कक्षा लिनै मान्दैनन्
‘तिन बर्षको उमेरदेखि २५ बर्षको जवान हुँदासम्म घण्टौं कक्षाकोठामा बसेर पढ्नेहरु एक घण्टा ट्राफिकको सचेतनामुकल कक्षा लिन किन झण्झट मान्छन् ?’ सातदोवाटो स्थित हाछेथुको कार्यकक्षमा पुग्दा उनी भन्दै थिए, ‘धेरैजसो लेन मिच्नेहरु ‘हतार छ’ भन्दै कक्षा नलिईकन मुक्त हुन खोज्छन् ।’
ईज्जतका लागि आफ्नो छोरा–छोरीलाई डाक्टर ईन्जिनीयर बनाउन खोज्नेहरुले आफ्ना सन्तालाई सवारी दुर्घटनाबाट बचाउने ‘ट्राफिक क्लास’ लिनुपर्छ भनेर कसैले ध्यान नदिएकोमा चिन्ता ब्यक्त गर्छन हाछेथु ।
उनका अनुसार लेन मिच्नेहरु जत्तिसुकै धेरै जरिवाना तिर्न तयार भएपनि ‘हतार छ’ भनेर कक्षा लिनबाट उम्कन खोज्छन् । मिटिङ, कलेज, अफिस र पसलको बहनामा कक्षा लिन झण्झट मान्नेहरुलाई सुझाउँदै हाछेथु भन्छन्, ‘एक घण्टा निःशुल्क कक्षा लिँदा सड्कमा अनुशासन झल्कन्छ, सम्भावित दुर्घटनाबाट बचिन्छ ।’
सडकमा प्रहरीले चिट निकाल्नासाथ ‘लेनमा नकाट्नु अर्को ठुलो जरिवाना तिर्न तयार छु, कक्षा लिन भ्याउँदिन’ भन्नेहरुको संख्या बढ्दै गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
‘हतार छ एकपटकलाई छाडिदीनुस् न भन्नेहरु धेरै आउँछन्’ ट्राफिक प्रहरी महाशखाका एसपी लोकेन्द्र बहादुर मल्लले भने, ‘लेन मिचेर ४५ मिनेटको कक्षा लिन भ्याउँदिन भन्नेहरुले लाईसेन्स पाउँदैन, किनकी कक्षा लिनुको विकल्प हामीसँग छैन ।’
ट्राफिकले लेन अनुशासनको कारवाहीलाई कडा बनाएको दुई महिना भन्दा बढी भैसकेको छ । अझ जेठ १ गतेबाट जरिवाना बढेसँगै लेन मिच्नेहरुको संख्या क्रमश घट्दै गएको एसपी मल्लले जानकारी दिए । उनले भने, ‘जरिवानाको रेट बढेपछी लेन क्रस गर्नेहरुको संख्या घटेको छ, पहिले दैनिक एक हजार भन्दा धेरैले लेन मिच्ने गरेका थिए अहिले त्यो संख्या घटेर पाँच–छ सयमा झरेको छ ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...